काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र हमास नेता याया सिनवरविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा पक्राउ पुर्जी माग भएको छ। सो अदालतका प्रमुख अभियोजनकर्ता करिम खानले उनीहरुविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी माग गरिएको बताएको छ।
इजरायली रक्षामन्त्री योहाव गालान्ट र हमासका दुई नेताहरु मोहम्मद देइफ र इस्माइल हनियाविरुद्ध पनि पक्राउ पुर्जी माग गरिएको उनले बताए। अमेरिका पक्षधर मुलुकको नेतालाई पहिलो पटक यसरी अपराध अदालतमा पक्राउ पुर्जी माग भएको हो । यसअघि रुसी राष्ट्रपतिविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेको थियो । न्यायाधीशहरुको एक इजलासले खानको निवेदनमा सुनुवाइ गर्नेछ।
नेतन्याहुविरुद्ध विनाश, युद्धको विधिका रुपमा भोकमरी गराएको र जानीजानी गैरसैनिकलाई निसाना बनाएको आरोप लगाइएका छन्। यसअघि नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी हुँदै गर्दा अमेरिकी सांसदहरुले आईसीसीलाई पत्र पठाउँदै प्रतिबन्धको धम्की दिएको थियो ।
इजरायल र अमेरिका आईसीसीको सदस्य होईन । तर, गाजा, पूर्वी जेरुसलेम र वेस्ट ब्यांक भने सो अदालतको क्षेत्राधिकारमा पर्छ ।
#सीएनएन