काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल शुक्रबार दिउँसाे काभ्रेमा २ घण्टामा ३ कार्यक्रम सहभागि भएको थियो । शुक्रबार नै हेटौंडामा बागमती विश्वविद्यालयका बोर्ड अफ ट्रष्टीका सदस्यहरूलाई मनोनयन पत्र बुझाउन भ्याएका उनी काभ्रेका विभिन्न स्थानमा भएको ३ वटा कार्यक्रममा सहभागी भएको हो ।
काभ्रेको दक्षिण भागमा अवस्थित खानीखोला गाउँपालिकामा शुक्रबार आयोजित सडक निर्माण शिलान्यास, प्रशासनिक भवन शिलान्यास र एक कृषि उपज बिक्री केन्द्रको उद्घाटन कार्यक्रममा उनी सहभागी भएका थिए । मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्गको ताल्ढुंगा सिक्रे दोभान झुरझुरे सडक खण्डको शिलान्यास समेत गरेको थियो । त्यस्तै, खानीखोला गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास पनि गरेको थियो । मुख्यमन्त्री जम्कट्टेलले खानीखोलामा स्थानी उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटन समेत गरेको थियो ।
कार्यक्रममा जम्कट्टेलले प्रदेश सरकारले विकासको नेतृत्व गर्ने बताए । सङ्घीय सरकारले कानुन निर्माण गर्ने मात्रै काम गर्ने भएकाले प्रदेशले विकासको नेतृत्व गर्ने उनले बताए । प्रदेश सरकारले विकासको मूल नेतृत्व गर्ने भएकाले सङ्घीयतामा प्रदेशको विशिष्टखालको महत्त्व रहेको पनि उनले बताए ।
जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक बनाउने प्रतिबद्धता
मुख्यमन्त्री जम्कट्टेलले जनमुक्ति मार्ग र ताल्ढुंगा खोपासी सडक प्रदेश सरकारले बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले १० वर्षे जनयुद्धको क्रममा जनमुक्ति सेनाको इतिहाससँग जोडिएका सो मार्ग प्रदेश सरकारे निर्माण गर्ने बताए । पहाडी जिल्ला काभ्रेको विकास र इतिहास कायम राख्न उक्त मार्गले टेवा पुग्ने उनले बताए । जनमुक्ति सेनाको आधार क्षेत्रसँग जोडिएको मार्ग भएकाले यो मार्ग निर्माण कार्यले जनमुक्ति सेना र माओवादी क्रान्तिको सम्मान हुने उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले ताल्ढुंगा खोपासी सडक पनि प्रदेश सरकारले निर्माण गर्ने बताए । सङ्घीय सरकारले बनाउने अपेक्षा गरेपनि सो सडक प्राथमिकतामा नपरेको समेत उनको टिप्पणी थियो । आगामी बजेटमा रकम विनियोजन गरेर प्रदेश सरकारले नै सो सडक निर्माण गर्ने उनको प्रतिबद्धता थियो । खानीखोलाको विकासका लागि खोपासी ताल्ढुंगा सडक बन्न जरुरी रहेको जम्कट्टेलले औँल्याए ।
मुख्यमन्त्री जम्कट्टेलले खानीखोला करिडोर निर्माणमा प्रदेश सरकारको पूर्ण साथ रहने विश्व व्यक्त गरे । खानीखोला करिडोरका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट समावेश गर्ने र ताल्ढुंगालाई प्रदेशको उदीयमान सहरको रूपमा विकास गर्ने उनले बताए । स्थानीय उत्पादनलाई जोड दिन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको रणनीति रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

