काठमाडौं । प्रहरीले जुवा खेलिरहेको अवस्थामा दश लाख ११ हजार रुपैयाँसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, बूढानीलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कवीर देउला, ताप्लेजुङ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-५ बस्ने ३८ वर्षीय नारायण लाबुङ रहेको प्रहरीले जनाइएको छ ।

त्यसैगरी, काठमाडौं-१९ वसन्तपुर बस्ने २१ वर्षीय निलेश महर्जन, सोही ठाउँका ४५ वर्षीय राजेश श्रष्ठ, काठमाडौं-१५ डल्लु बस्ने ४८ वर्षीय दीपक महर्जन, बूढानीलकण्ठ-५ देउला बस्ने ३३ वर्षीया सरिता देउला, काठमाडौं-१३ कालीमाटी बस्ने ४८ वर्षीय विवेक महर्जन र  काठमाडौं-१५ डल्लु बस्ने ५२ वर्षीय प्रकाश शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “सोमबार राति काठमाडौं-४ चुनदेवीमा रहेको यमकुमारी आलेको साढे तीनतले घरको छतमा हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।”