काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए ।
पोखरा महानगरपालिका-९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको हो । साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए । उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिए ।
मगरले दिएको बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’ पछि निष्कासनमा परेका थिए ।