काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार राती नै पोखरा लगिएको छ ।
लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा मंगलबार र बुधबार दुई दिन बयान लिइएको थियो ।लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप रहेको छ । रविलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइरहँदा बाहिर समर्थकले प्रदर्शन गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ । सहकारी ठगी प्रकरणमा लामिछानेसँग चितवनलगायत कास्की, रुपन्देही र काठमाडौंमा बयान सकिइसकेको छ ।
प्रहरीले अब उनलाई पर्साको वीरगञ्ज लैजानेछ । जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरेको छ । सोही पक्राउ पुर्जीको आधारमा प्रहरीले लामिछानेलाई पोखराबाट वीरगञ्ज लैजाने छ ।