काठमाडौं । सहकारीको ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन लगिने भएका छन् ।
चितवनको साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई चितवन पुर्याउन लागिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लामिछानेको हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन लगेर हिजो बयान सकिएको थियो । यस्तै, रास्वपाका जिल्ला समिति चितवनले हिजो जिल्ला भेला सम्पन्न गरी आजदेखि लामिछानेलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्ने तयारी समेत गरेको छ।