काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

अधिकारीले जेनजीले आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै पद त्याग गरेका हुन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले साना बालबालिकासहित निर्दोष नागरिकमाथि भएको दमन, हत्या र नियन्त्रणलाई अस्वीकार्य ठहर गरेका छन्।

उनले लेखेका छन्, “यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षाको खिलाफ हुने भएकोले नैतिक रूपमा क्षमा याचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको छु।”

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको अधिकार भएको भन्दै मन्त्री अधिकारीले सरकारको कदमलाई अलोकतान्त्रिक भनेका छन्।