काठमाडौं । राजधानी काठमाडौंमा मंगलबार बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

कर्फ्यु आदेशअनुसार कोही पनि व्यक्ति आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैनन् ।

कर्फ्यु चक्रपथ क्षेत्रभित्र बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण क्षेत्रमा लागू हुनेछ ।

तर, अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटकका गाडी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकट देखाउने यात्रुहरूलाई भने सुरक्षाकर्मीको सहजीकरण रहने सूचना जारी गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेर सार्वजनिक गरिएको उक्त सूचनामा अर्को आदेश नभएसम्म कर्फ्यु कायम रहने उल्लेख छ ।