काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिन खोजिएपछि सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको प्रतिवादस्वरूप काउन्टर जाहेरी दिने तयारी गरेको छ।
अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल का संस्थापक सुधन गुरुङ विरुद्ध जाहेरी दर्ता गर्न काठमाडौं प्रहरी परिसर जाँदै छन्।
संगठनको आन्तरिक बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ। सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी, निजी सम्पत्तिको ध्वंस र प्रहरीमाथि भएको आक्रमणमा बालेन र सुधनको संलग्नता रहेको आरोप लगाउँदै जाहेरी दर्ता गर्न तयारी गरिएको हो।
अनेरास्ववियुका महासचिव दीपक धामी ले मंगलबार साँझ ५ बजेभित्र जाहेरी दर्ता गराउने तयारी भइरहेको बताए।
यसअघि, हिजो मात्र सुधन गुरुङ नेतृत्वको समूहले एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध किटानी जाहेरी दिन खोजेको थियो। तर, प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गरेको थियो।
यो घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल सहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेकी थिइन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ ले जाहेरी दर्ता गर्न प्रधानमन्त्रीबाट लिखित निर्देशन आवश्यक पर्ने सुझाव दिएका थिए।
घटनाले राजनीतिक वृतमा नयाँ तरंग ल्याएको छ, जसले ओलीविरुद्धको जाहेरी र त्यसको काउन्टर प्रयासबीच सत्ता–प्रतिपक्षबीचको तनाव अझ चर्कने संकेत देखाएको छ।

