धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने आदमघाट चौतारा सडकखण्ड बर्खायाम सुरु भएसँगै खाल्डाखुल्डीमा परिणत भएको छ । सडक स्तरोन्नतिका नाममा वार्षिक लाखौं बजेट खन्याए पनि बर्खायाममा गाई वस्तु समेत हिड्न मुस्किल हुने स्थानीय बासिन्दाको गुनासो रहेको छ  ।

     

 पृथ्वीराजमार्गदेखि दक्षिणी भु-भागमा पर्ने आदमघाट-चौतारा सडकखण्ड पूर्वस्थानीय बिकास मन्त्री तथा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेको गाउँपालिका र बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलका जन्मस्थान समेत हुन् । आदमघाटदेखि ३५ किलोमिटरको दूरीमा रहेको  यस सडकखण्ड साबिकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसँग जोड्न वि.सं २०४९ सालबाट सुरु भएको हो । हरेक चुनावमा यो सडक कालोपत्रे गर्ने बाचा गर्दै जनतालाई ढाटेर पटकपटक सत्ताका महत्त्वपूर्ण भुमिकामा रहने नेता अर्को चुनाव नआएसम्म सहरमै हराउने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

       

गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने यस सडकखण्ड हरेक वर्षायाममा खंडहरमा परिणत भएपछि भालुखोप, पेटारे, तिनघरे, थुम्कीडाँडा, ग्यालगुने, भीरखर्कसहितका गाउँमा उत्पादन भएका आलु, बन्दा, काउली, मुला लगायत तरकारी समयमै बजारमा पुर्याउन नसक्दा भाउ नपाउने र बिग्रिने गरेको स्थानीय किसानहरुको गुनासो रहेको छ । हिउँदमा मोटर हिड्ने यस सडकमा मनसुन सुरु भएसँगै स्थानीयहरु करिब ३-४ महिनासम्म मोटर हिड्ने काल्पनिक आशामा रमाउनुपर्ने बाध्यता रहेको छ । वर्षायाममा यस सडकखण्डबाट करिब ३ सय घरदुरी प्रभावित हुने गरेका छन् ।

           

हरेक वर्ष वर्षायाम सुरु भएपछि ३ महिनाका लागि ४ जना सडक हेरालु राख्ने गर्छन् । ती हेरालु प्रभावित क्षेत्रमा नपुग्दै कार्यकाल सकिने गरेको स्थानीय बताउँछन् । सरसफाईको नाममा वडा र पालिकाले छुट्याएको टुक्रे बजेट पनि प्रभावित क्षेत्रमा नपुग्दै सकाउदै आएको छ । सरसफाइको नाममा झारो टार्ने काम मात्रै गरेको स्थानीयको भनाई छ ।