चितवन । शुक्रबार बिहान चितवनको भरतपुर-२९ सिमलतालमा गएको पहिराले दुई वटा बस बगाएर बेपत्ता भएकामध्ये हालसम्म १४ जनाको शव भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएका मध्ये ७ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको जनाएको छ । भेटिएका मध्ये हालसम्म नवलपरासी ‘बर्दघाट-सुस्तापूर्व’ मा १० जना, चितवनमा तीन र नवलपरासी ‘बर्दघाट-सुस्तापश्चिम’ मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।

 

पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरीले जनाएको छ । सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २७ जना र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा ३८ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ । बसमा सवार यात्रुमध्ये तीनजना त्रिशूली नदीमा पौडी खेलेर बाँच्न सफल भएका थिए ।

जिल्ला प्रशासनले अहिले पनि खोजी कार्य जारी रहेको दुवै बस फेला पर्न नसकेको जनाएको छ भने खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल समेत गरेको छ ।