काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएको हो।

 

 

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७  मत, प्रस्तावको विपक्षमा शून्‍य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको छ । प्रतिनिधि सभामा सोमबार १५८ सांसद उपस्थित थिए। प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएको हो । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ। जसपा नेपाल फुटेर ससपा बनेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले निरन्तर संसद्‌मा अवरोध जारी राखेको हो।