काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । अहिले बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।