काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया र पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
त्यस्तै, राती देशभर आंशिक देखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।