काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।

पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो । कालोसूचीमा थपिएको २ अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिंग गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला ४ महिना यता ८ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो ।

त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।

दसैँ यता मात्र काउन्सिलले यी दुई सहित विभिन्न ९ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्‍याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि ती मध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवा समेत भएको काउन्सिल स्रोतले जानकारी दियो ।