काठमाडौं । सरकारले बन्द गर्ने निर्णय गरेको २६ सामाजिक सञ्जालमध्ये ८ वटा सञ्चालक कम्पनी सरकारको सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेर सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएपछि तीमध्ये केही कम्पनीले नेपाल सरकारसँग सम्पर्क गरेका हुन्।
नेपालमै सञ्चालनमा रहेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेर निष्क्रिय हुनबाट जोगिएको छ। त्यस्तै, मेटाले समेत आवश्यक कागजातबारे बुझ्दै अनौपचारिक सम्पर्क गरेको मन्त्रालयले जनाएको छ। मेटा अन्तर्गत फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स पर्दछन्।
शुक्रबार भने ट्वीटर (एक्स)ले आधिकारिक रूपमा सम्पर्क गरेको प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिएका छन्। सोही दिन चिनियाँ कम्पनी वी च्याटले पनि सूचीकरण प्रक्रियाबारे जानकारी लिएको मन्त्रालयको भनाइ छ।
तर, अझै युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल भने सरकारसँग सम्पर्कमा आएका छैनन्।
यीमध्ये युट्युब र लिंक्डइन अत्यधिक प्रयोगमा रहेका सञ्जाल हुन् भने स्न्यापच्याट, क्लब हाउस र इमो सामान्य प्रयोगमा देखिन्छन्। बाँकी भने नेपालमा खासै लोकप्रिय छैनन्।

