फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० को प्रभावशाली जित दर्ता गर्दै समूह ‘के’ मा शीर्ष स्थान कब्जा गरेको छ। ह्युस्टनमा भएको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै इतिहास रचेका छन्। ४१ वर्षीय स्टारले विश्वकपका लगातार ६ फरक संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेर अर्को कीर्तिमान आफ्नो नाममा लेखाए।
खेल सुरु भएको छैटौं मिनेटमै जोआओ क्यान्सेलोको आकर्षक क्रसलाई रोनाल्डोले लो हाफ–भलीमार्फत गोलमा परिणत गर्दै पोर्चुगललाई अग्रता दिलाए। उक्त गोलसँगै उनी विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बने। यसअघि क्यामरुनका रोजर मिल्लाले १९९४ मा ४२ वर्षको उमेरमा गोल गरेका थिए। १७औं मिनेटमा नुनो मेन्डेसले शानदार फ्रिकिक गोल गर्दै पोर्चुगलको अग्रता २–० पुर्याए।

पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानले केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन। अजिज गानियेभले गरेको सुन्दर प्रहार गोलमा परिणत भएजस्तो देखिए पनि अब्बोसबेक फैजुल्लाएभको फाउलका कारण रेफ्रीले गोल अस्वीकृत गरे। त्यसपछि ३९औं मिनेटमा ब्रुनो फर्नान्डेजको उत्कृष्ट पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए।

दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभबाट आत्मघाती गोल भयो भने खेलको अन्त्यतिर वैकल्पिक खेलाडी राफाएल लियाओले शक्तिशाली प्रहारमार्फत पाँचौं गोल थपे। पहिलो खेलमा डिआर कङ्गोसँग बराबरी खेलेर आलोचना खेपेको पोर्चुगलले यस जितसँगै आफू उपाधि दाबेदार टोली भएको संकेत दिएको छ।

रोनाल्डोको लागि यो उपलब्धि झन् विशेष रह्यो। उनले अब विश्वकपमा कुल १० गोल पूरा गरेका छन्। सन् २००६, २०१०, २०१४ र २०२२ मा एक–एक गोल गरेका उनले २०१८ मा चार गोल गरेका थिए। विश्वकपमा यो उनको २४औं खेल पनि हो। उनीभन्दा बढी खेल खेल्ने खेलाडीहरूमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी (२८) र जर्मनीका लोथार माथाउस (२५) मात्र रहेका छन्। केही दिनअघि मेस्सीले अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक १८ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए, तर रोनाल्डोले भने अब छ फरक विश्वकप संस्करणमा गोल गर्ने अद्वितीय उपलब्धि हासिल गरेका छन्।


