जुन 25, 2026
खेलकुद

भिनिसियस चम्कँदा ब्राजिलको शानदार जित, स्कटल्यान्ड ३-० ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा सुरुदेखि नै आक्रामक देखिएको ब्राजिलले स्कटल्यान्डलाई कुनै अवसर नदिई प्रभावशाली प्रदर्शन गर्‍यो।

 

 

ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले खेलको सुरुमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। स्कटल्यान्डको रक्षात्मक गल्तीको फाइदा उठाउँदै उनले सातौँ मिनेटमा जाली चुमाए। पहिलो हाफमै उनले अर्को गोल थप्दै ब्राजिललाई २-० को बलियो अवस्थामा पुर्‍याए। विश्वकपका तीनै खेलमा गोल गर्न सफल भिनिसियस ब्राजिलको सबैभन्दा भरपर्दो खेलाडीका रूपमा देखिएका छन्।

दोस्रो हाफमा स्कटल्यान्डले खेलमा फर्कने प्रयास गरे पनि ब्राजिलको अनुभवी डिफेन्स र गोलकिपर एलिसन अगाडि सफल हुन सकेन। खेलको ६०औँ मिनेटमा म्याथियस कुन्हाले तेस्रो गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे। त्यसपछि प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारलाई मैदान प्रवेश गराएका थिए र उनले यस विश्वकपमा पहिलो पटक खेल्ने अवसर पाए।

यो जितसँगै ब्राजिलले समूह चरण अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गर्‍यो र उपाधि दाबेदारका रूपमा आफ्नो शक्ति प्रदर्शन गर्‍यो। पराजित स्कटल्यान्डको नकआउट यात्रा भने अन्य समूहका नतिजामा निर्भर बनेको छ। गोल अन्तरमा परेको ठूलो असरले स्कटल्यान्डको सम्भावनालाई कठिन बनाएको छ।

 

जवाफ लेख्नुहोस्