काठमाडौं । दक्षिण अफ्रिकाले फिफा विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गत निर्णायक खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
मोन्टेरेमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकालाई ऐतिहासिक जित दिलाउने एकमात्र गोल थापेलो मासेकोले दोस्रो हाफको ६३औँ मिनेटमा गरेका थिए। त्यसपछि दक्षिण अफ्रिकाले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै अग्रता जोगायो।
जितसँगै दक्षिण अफ्रिकाले समूह चरण सफलतापूर्वक पार गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो। उता, जित वा बराबरीले पनि अघि बढ्न सक्ने अवस्थामा रहेको दक्षिण कोरिया भने पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ।


