काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत साता (शुक्रबार)को तुलनामा यो साता शुक्रवार)सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता (शुक्रवार) छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । यो साता (शुक्रवार)सम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ । तेजाबी सुन तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो भने यो साताको शुक्रवार १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

यो साताको सोमबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गर्दै तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । यसपछि निरन्तर ओरालो झर्दै शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यो साता चाँदीको मूल्य वृद्धि भएको छ । गत साताको शुक्रवार चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको थियो । यो साताको शुक्रवारसम्म आइपुग्दा ५५;रुपैयाँले बढेर १८ सय ५५ रुपैयाँ कारोबार भएको छ ।

यो साताको आइतबार ऐतिहासिक रेकर्ड राख्दै चाँदीको मूल्य १९ सय १० रुपैयाँसम्म पुगेको थियो ।