काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब २९ महिनापछि २५ सय अङ्कको बिन्दुमाथि पुगेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’ मा रहेको नेप्से परिसूचकले मगंलबार २५ सय अङ्कको बिन्दु पार गरेको हो ।

यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो । तर लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा बसेपछि आज परिसूचक बढेर २५ सय ३० अङ्कमा पुगेको छ । यस क्रममा आज ४२।४७ अङ्कले परिसूचक बढेको छ । यो १।७० प्रतिशतको वृद्धि हो । यो समाचार तयार पार्दासम्म ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको १ करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ ।

सबैजसो बाह्य सूचक सकारात्मक स्थितिमा छन् । यस्तै बैंकमा लगानीयोग्य रकम ६ खर्ब छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयको नेतृत्वमा विष्णु पौडेल आएपछि लगानीकर्ताको मनोबल बढेको बताइन्छ । विगतको इतिहास हेर्दा अर्थ मन्त्रालको नेतृत्वमा पौडेल हुँदा नेप्से परिसूचक ‘अलटाइम हाइ’मा पुगेको कीर्तिमान कायम छ ।