म चे खोजिरहेछु

म मार्क्सझैँ
समाजको नक्सा फेर्ने
एक महान् युगको
नयाँ दार्शनिक खोजिरहेछु ।

म लेनिनझैँ
जारशाहको तख्ता पल्टाउने
एक महान् गतिशील
नयाँ योद्धा खोजिरहेछु ।

म माओझैँ
चिङकाङ साङ पहाडलाई ब्युँझाएर
लामो अभियानमा हिँड्न सक्ने
अभियन्ता खोजिरहेको छु ।

हर-भूगोलमा
हर-गोरेटोमा
हर-देशमा
हर-पुस्तकमा
हर-घोषणापत्रमा
नयाँ मान्छेको प्रस्तावना खोजिरहेछु ।

मजदुरहरुका बिचमा
लेखकहरुका माझमा
समाजका हर-तप्कामा
हर-बखत
हर-क्षण
म नवीन युगको उद्घोषण खोजिरहेछु ।

म हर-दिन
म हर-क्षण
क्रान्तिको ज्वालामुखी बोकेर
हिँडिरहने चे ग्वेभारा खोजिरहेछु ।

प्रत्येक छाकमा
प्रत्येक गाँसमा
प्रत्येक रातमा
प्रत्येक दिनमा
म चे अनुभूत गर्न चाहन्छु ।

प्रिय कामरेड
तिम्रो आदर्शमा
तिम्रो कार्यदिशामा
तिम्रो कार्यनीतिमा
तिम्रो सिद्धान्तमा
म गतिशील चे ग्वेभारा खोजिरहेछु ।

आफ्नो भूगोल
आफ्नो पद
आफ्नो जीवन
क्रान्तिलाई सुम्पिएर
जहाँ शोषण छ
त्यहाँ विद्रोह बोल्ने
चे ग्वेभारा खोजिरहेको छु ।

                          ✍️ कुशल बोगटी

विद्रोहको गीत कवितासङ्ग्रहबाट