काठमाडौं । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलका पदाधिकारीसँग भेटघाट गरेको छ । शीतल निवासमा भएको भेटमा मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने उनले बताए ।
त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने पनि उनको तर्क थियो । नयाँ मिडियासहितले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने पौडेलले सुझाव दिए ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रुपमा अवगत गराएको थियो ।
अध्यक्ष बस्नेतले युट्युवसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिए । अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृङ्खलाहरु काउन्सिलले थालेको उनले बताए ।
भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल, रामप्रसाद दाहाल, लालबाबु शेष र मुख्य अधिकृत झबिन्द्र भुसाल थिए ।

