काठमाडौं । पछिल्लो पुस्ताका मानिसहरूलाई खानपनका कारण विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गरेको छ । विशेषगरी असन्तुलित खानुपर्ने, अधिक मासु खाने, मद्यपान, सुर्तीजन्य तथा अन्य नशाको सेवन, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लड प्रेसरको समस्या बढ्दै गएको छ ।

फलस्वरूप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । हाम्रो यस्तै जीवनशैलीले निकालेको रोग हो, उच्च रक्तचाप अर्थात् ब्लड प्रेसर हाई । ब्लड प्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताइन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग समेत भनीन्छ ।

यो समस्याले सताउँदा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रिँगटा छुट्नु आँखा हेर्नै गारो हुनु, श्वास रोकिएला झैँ हुनु जस्ता लक्षण देखिन्छ ।

यसले प्यारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने हार्ट अट्याक जस्ता अन द स्पट डेड हुन सक्छ । तर जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।

ब्लड प्रेसरलाई कम/नियन्त्रण गर्न निम्न उपाय अपाउनु आवश्यक छ :

१. सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।

२. खानामा नुनको प्रयोग कम गर्ने र फलफूल, सागसब्जी र दूधबाट उत्पादित चिल्लो कम भएका सामग्रीहरूको उपभोग प्रशस्त मात्रामा गर्ने ।

३. नियमित शारीरिक व्यायाम गर्ने,हरेक दिन छिटो हिँड्ने, दौडिने, कमसेकम ३० मिनेट पौडी खेल्ने ।

४. धूम्रपान नगर्ने तथा समयमै चिकित्सकसँग परामर्श लिइरहने । पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउने ।

५. उच्च रक्तचापका बिरामीले आफ्नो रक्तचापको नियमित जाँच गराइराख्नु पर्दछ र साथै चिकित्सकको निर्देशन अनुसार समय–समयमा स्वास्थ्य जाँच गराउन जानु पर्दछ ।

६. समय-समयमा स्वास्थ्य जाँच गराउनाले तपाईँको रक्तचाप कतिको घटेको वा बढेको छ भन्ने कुरा जान्न सकिन्छ र सोही अनुरूप चिकित्सकले औषधिको मात्रा समायोजन गर्नेछन्।

चिकित्सकको सल्लाह बिना तपाईँ औषधि सेवन गर्न नछोड्नुहोस्। यदि औषधिको कारण केही प्रतिकूल असर भएमा, यसबारेमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस्