काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व तिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

अहिले देशभर आंशिक देखी साधारणता बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणता बदली रहने छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती पनि देशभर आंशिक देखि साधारणता बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।