काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलाउन तयारी गरिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव दाह संस्कार गर्ने काममा संलग्न एक ब्राम्हण हुन्। उनलाई प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान सुरु गरिएको छ।

काभ्रे, बनेपा नगरपालिका-९ का राम शाहीको शव जलाउने क्रममा आफन्तले ती ब्राम्हणमाथि मासु र हड्डी निकाल्ने गरेको आरोप लगाएका थिए। आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मृतकका आफन्तले मासु र हड्डी बेच्ने गरेको पनि आरोप लगाएका छन् तर कसलाई, कति मूल्यमा बेचे भन्नेबारे प्रमाण प्राप्त नभएकाले आरोप पुष्टि हुने अवस्था भने छैन। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।