जुन 13, 2026
ताजा समाचार

सीमा विवादमा शिशिर खनालको स्पष्ट सन्देश : ‘संवादबाटै समाधान सम्भव’

काठमाडौँ। परराष्ट्रमन्त्री ले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्न नेपाल पूर्ण रूपमा तयार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले खुला हृदय र स्पष्ट दृष्टिकोणसहित दुई देशबीचका सबै विषय समाधान गर्न सकिने बताएका हुन् ।

 

उनले नेपालको नयाँ सरकारले भारतलाई पुरानो भूराजनीतिक दृष्टिकोणबाट नभई साझा समृद्धि र विकासका साझेदारका रूपमा हेर्ने स्पष्ट पारे । नेपाल अहिले आर्थिक रूपान्तरण, व्यापार विस्तार, ऊर्जा सहकार्य र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको उच्चस्तरीय भेटवार्तामा व्यापार, जलस्रोत, ऊर्जा साझेदारी, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको खनालले जानकारी दिए ।

प्रधानमन्त्री को सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि विभिन्न चर्चा भइरहेका बेला खनालको यो धारणा सार्वजनिक भएको हो ।

उनले उग्र राष्ट्रवादभन्दा शान्त, तथ्यमा आधारित र व्यवहारिक कूटनीतिमार्फत समाधान खोज्ने नीति अपनाइएको स्पष्ट पारे । भारतको तीव्र आर्थिक प्रगति र प्रविधि विकासको प्रशंसा गर्दै नेपाल पनि त्यससँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको उनले बताए ।

भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाबीच क्रस–बर्डर डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सुरु भएको घोषणा गरिएको छ । यसबाट नेपाल र भारतबीच युपिआई शैलीको डिजिटल कारोबार सहज हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी भारतको सहयोगमा नेपालमा पुनर्निर्माण गरिएका ७२ स्वास्थ्य तथा १२ सांस्कृतिक परियोजना हस्तान्तरण गरिएको छ । काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया मिसनबीच डिजिटल सार्वजनिक पूर्वाधारमा सहकार्यका लागि समझदारी पत्रसमेत आदानप्रदान भएको छ ।

परराष्ट्रमन्त्री खनालले नेपाल र भारतलाई एउटै सभ्यता, संस्कृति, नदी र पहाडले जोडेको उल्लेख गर्दै नयाँ दिल्लीमा पाएको सहयोग र स्वागतप्रति आभार व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्