जुन 13, 2026
राजस्व/कर

कर हेरफेर काण्डमा अर्थमन्त्रीको बचाउ : दोष कर्मचारीमाथि

काठमाडौं । करका दर हेरफेर विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रुटि भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी कर्मचारीमाथि सार्ने प्रयास गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै उनले आर्थिक विधेयकमा कर तथा शुल्कसम्बन्धी केही त्रुटि भएको स्वीकार गरे । तर ती त्रुटि आफूले नभई कर्मचारीहरूले बिहान ४ बजे टाइप गर्ने क्रममा गरेको दाबी गरे ।

अर्थमन्त्री वाग्लेले आफू अर्थ मन्त्रालयको अभिभावक भएकाले कर्मचारीको गल्तीको अपनत्व लिएको बताए । “मैले टाइप गरेर बिगारेको होइन, तर मन्त्रालयको गार्डियन भएकाले कर्मचारीले गरेको गल्तीको डिफेन्स गर्नुपर्छ,” उनले भने । उनका अनुसार जेठ १७ गते नै त्रुटि सच्याउन संघीय संसद् सचिवालयमा पत्र पठाइएको थियो । उनले त्यसपछि आर्थिक विधेयकमा कुनै नयाँ संशोधन नगरिएको दाबी समेत गरे ।

तर विपक्षी दलहरूले भने विधेयक संशोधन गर्ने संवैधानिक र संसदीय प्रक्रिया नै पूरा नभएको अवस्थामा ‘त्रुटि सुधार’को नाममा सचिवालयमा पत्र पठाइनु कानुनसम्मत नभएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमाथि सामान्य छलफलपछि मात्रै सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न पाउने व्यवस्था छ । यस्तो प्रक्रिया सुरु नै नभएको अवस्थामा कुन कानुनी आधारमा पाँच बुँदे त्रुटि सुधार गरियो भन्नेबारे अर्थमन्त्रीले स्पष्ट जवाफ दिएका छैनन् । विवाद बढिरहेका बेला मन्त्री वाग्लेले आफूलाई लक्षित राजनीतिक आक्रमण भइरहेको दाबी समेत गरेका छन् । :::

जवाफ लेख्नुहोस्