मेक्सिको सिटी रंगशालामा बिहीबार राति भएको समूह ‘ए’ को रोमाञ्चक खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। घरेलु समर्थकको गगनभेदी समर्थनबीच मेक्सिको सुरुदेखि नै आक्रामक देखिएको थियो।
खेलको नवौं मिनेटमा एरिक लिराले बल खोसेपछि जुलियन क्विन्योनेसले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदै मेक्सिकोलाई अग्रता दिलाए। यसअघि पनि राउल हिमेनेजको खतरनाक प्रयासलाई दक्षिण अफ्रिकाका कप्तान तथा गोलरक्षक रोनवेन विलियम्सले उत्कृष्ट बचाउ गरेका थिए।
पहिलो हाफमा थप गोल खानबाट जोगिएको दक्षिण अफ्रिका दोस्रो हाफमा भने दबाब थेग्न सकेन। खेलको ६०औँ मिनेटमा गोलतर्फ अघि बढिरहेका हिमेनेजलाई स्फेफेलो सिथोलेले पेनाल्टी क्षेत्रबाहिर लडाएपछि रातो कार्ड खाँदै मैदान छाड्नुपर्यो। एक खेलाडीले कम भएको दक्षिण अफ्रिकामाथि मेक्सिकोले लगातार आक्रमण जारी राख्यो र ६७औँ मिनेटमा क्विन्योनेस र हिमेनेजबीचको उत्कृष्ट समन्वयपछि रोबर्टो अल्भाराडोको क्रसलाई हिमेनेजले शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।
खेलको अन्त्यतिर तनाव बढ्दा दुवै टोलीले एक–एक खेलाडी गुमाए। दक्षिण अफ्रिकाका थेम्बा ज्वाने र मेक्सिकोका सेजार मोन्टेस रातो कार्ड खाँदै मैदान बाहिरिए। यस जितसँगै मेक्सिकोले विश्वकप उद्घाटन खेलमा आफ्नो प्रभावशाली कीर्तिमान कायम राख्दै लगातार आठौं पटक हार टारेको छ। पछिल्ला आठ उद्घाटन खेलमा मेक्सिकोले ६ जित र २ बराबरीको नतिजा निकालेको छ, जसले प्रतियोगितामा उसको बलियो दाबेदारीलाई थप मजबुत बनाएको छ।


