फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा आइभोरी कोस्टले अन्तिम समयमा गरेको गोलको मद्दतले इक्वेडरलाई १–० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ।

फिलाडेल्फियामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। इक्वेडरले पहिलो हाफमा दुई पटक क्रसबारमा प्रहार गर्दै अग्रता लिने सुनौलो अवसर गुमायो भने आइभोरी कोस्टले पनि केही उत्कृष्ट मौका खेर फालेको थियो।

खेल बराबरीतर्फ उन्मुख भइरहेका बेला ९०औँ मिनेटमा अमाद डियालो नायक बने। विल्फ्रिड सिङ्गोको पासलाई सदुपयोग गर्दै उनले बक्सको छेउबाट उत्कृष्ट फिनिस गर्दै बललाई जाली चुमाए र आइभोरी कोस्टलाई महत्वपूर्ण तीन अंक दिलाए।
अन्तिम क्षणको गोलले अफ्रिकी च्याम्पियन आइभोरी कोस्टले विश्वकप अभियान विजयी सुरुवात गर्न सफल भयो भने उत्कृष्ट प्रदर्शन गरे पनि इक्वेडर खाली हात फर्किन बाध्य बन्यो। यो नतिजासँगै समूह ‘ई’ मा आइभोरी कोस्टले नकआउट चरणको सम्भावना बलियो बनाएको छ।


