फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा डेनिज उन्डाभले दोस्रो हाफमा दुई गोल गरेपछि जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
टोरन्टो स्टेडियममा भएको रोमाञ्चक खेलमा आइभरी कोस्टले पहिलो हाफमा अग्रता लिए पनि जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हात पार्यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उन्डाभ टोलीका नायक बने।
आइभरी कोस्टका कप्तान फ्रान्क केस्सीले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। यान डियोमान्डेले सुरु गरेको आक्रमणमा अमाद डियालोको प्रहार जर्मनीका डिफेन्डर नाथानियल ब्राउनले रोकेका थिए। तर फर्किएको बलमा केस्सीले सहज फिनिस गर्दै स्कोर १–० बनाए।
पहिलो हाफमा जर्मनीले दुई पटक बल जालमा पुर्याए पनि दुवै गोलले मान्यता पाएनन्। आलेक्सान्डार पाभ्लोभिचको हेडर गोल फाउलका कारण रद्द भयो भने काई हाभेर्ट्जको गोल पनि अमान्य घोषित गरियो।
दोस्रो हाफमा प्रशिक्षक युलियन नागेल्समानले रणनीतिक परिवर्तन गर्दै वैकल्पिक खेलाडी मैदानमा उतारेपछि जर्मनीको खेलमा नयाँ ऊर्जा देखियो। त्यसको परिणामस्वरूप ६८औँ मिनेटमा नादिम अमिरीको आकर्षक क्रसमा उन्डाभले उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरीमा ल्याए।खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको चौथो मिनेटमा उन्डाभ फेरि चम्किए। फेलिक्स नमेचाको पासलाई नियन्त्रणमा लिएर उनले गोलरक्षक याहिया फोफानालाई छक्याउँदै विजयी गोल गरे र जर्मनीलाई २–१ को महत्वपूर्ण जित दिलाए।

यसअघि कुरासाओविरुद्धको ७–१ को जितमा एक गोल र दुई असिस्ट गरेका उन्डाभले यस खेलमा पनि बेन्चबाट आएर टोलीको उद्धार गरे।यो जितसँगै चार पटकको विश्वकप विजेता जर्मनीले समूह चरणको एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान पक्का गरेको छ। पराजित भए पनि आइभरी कोस्टको अघिल्लो चरण पुग्ने सम्भावना कायम रहेको छ। आइभरी कोस्टले अन्तिम खेलमा विश्वकप डेब्यु टोली कुरासाओलाई पराजित गरे नकआउट चरणमा पुग्न सक्छ।


