फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई–दुई गोल गरेपछि नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ ले पराजित गर्दै नकआउट चरण (अन्तिम ३२) पुग्ने सम्भावना बलियो बनाएको छ| ह्युस्टन स्टेडियममा शनिबार भएको खेलमा प्रशिक्षक रोनाल्ड कोम्यानको टोलीले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्यो। पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेपछि आलोचनामा परेका कोम्यानले टोलीमा केही परिवर्तन गरेका थिए, जसको प्रभाव मैदानमा स्पष्ट देखियो।
नेदरल्यान्ड्सले खेलको पाँचौं मिनेटमै अग्रता लियो। गोलरक्षक बार्ट भेरब्रुगेनको लामो पासलाई नियन्त्रणमा लिएपछि ब्रोबेले बल कोडी गाक्पोलाई पास गरे। गाक्पोको लो–क्रसमा ब्रोबेले सहज गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।१७औं मिनेटमा डेन्जेल डम्फ्रिसको उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै ब्रोबेले व्यक्तिगत दोस्रो गोल गरे र नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा स्विडेनले गुस्ताफ लागरबियाल्केमार्फत गोल फर्काएको जस्तो देखिए पनि भिडियो समीक्षा पछि अफसाइड ठहरियो। त्यससँगै नेदरल्यान्ड्स २–० को अग्रतासहित विश्राममा गयो।दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै गाक्पोले गोल गर्दै स्कोर ३–० बनाए। ५४औं मिनेटमा क्राइसेन्सियो समरभिलको पासमा गाक्पोले व्यक्तिगत दोस्रो गोल थप्दा नेदरल्यान्ड्स ४–० ले अगाडि बढ्यो।
स्विडेनका लागि ५९औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले एक गोल फर्काए। तर त्यो गोलले स्विडेनलाई खेलमा फर्काउन सकेन।बरु दोस्रो हाफमा मैदान प्रवेश गरेका समरभिलले उत्कृष्ट प्रदर्शन गर्दै एक असिस्टसँगै ८९औं मिनेटमा सुन्दर गोल गरे र नेदरल्यान्ड्सको ५–१ को सहज जित सुनिश्चित गरे।
कोम्यानको रणनीतिले दियो उत्कृष्ट नतिजा
जापानसँगको बराबरीपछि नेदरल्यान्ड्सको खेल शैली र प्रशिक्षक रोनाल्ड कोम्यानको रणनीतिमाथि प्रश्न उठेको थियो। विशेषगरी आक्रमणको गति र रक्षात्मक व्यवस्थापनको आलोचना भएको थियो।
तर स्विडेनविरुद्ध टोलीले सुरुदेखि नै दबाबपूर्ण खेल खेल्दै आलोचकलाई जवाफ दियो। ब्रोबेले अग्रपंक्तिमा बल नियन्त्रण गर्दै प्रत्यक्ष आक्रमणलाई प्रभावकारी बनाए भने गाक्पो र डोनिएल मालेनले स्विडेनको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे।वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका समरभिलले पनि एक गोल र एक असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए।
समूह ‘एफ’ को अवस्था
यस जितसँगै नेदरल्यान्ड्स दुई खेलबाट चार अंक जोड्दै समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ। स्विडेन भने अन्तिम खेलअघि दबाबमा परेको छ र नकआउट चरणको आशा कायम राख्न जापानविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्ने अवस्था आएको छ।नेदरल्यान्ड्सले अब जुन २६ मा ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले जापानसँग महत्वपूर्ण खेल खेल्नेछ


