चितवन । आजदेखि मनकामना केबुलकार ५० दिनका लागि बन्द भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द गरिएको मनकामना दर्शन प्रा. लि. ले जनाएको छ ।

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रा. लि. का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

डिजिटल सिस्टममा स्तरोन्नति र मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको शेरचनले जनाइएको छ ।

यसका लागि दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएको छ । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ साल मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।