काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा लगातार पसिना आइरहेको छ । भीमेश्वर मन्दिरको शिलामा शनिबार दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो । शिलाबाट निस्कने तरल पदार्थलाई पसिना मान्ने गरिएको छ।

शिलाको बाँयातर्फबाट पसिना आएको भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष भरत श्रेष्ठले पसिना आउने क्रम अझै जारी रहेको बताएका छन् । भीमेश्वरको शिलामा बायाँतर्फबाट पसिना आएमा जनतालाई अनिष्ट हुने दाबी गर्ने गरिएको छ ।

भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । मन्दिरपरिसरमा अहिले क्षमापूजा भइरहेको छ ।

भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजाहरू बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ ठूलो संख्यामा दर्शनार्थी मन्दिरपरिसरमा पुगेका छन् । शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रूपले दिने गरिन्छ ।