काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नास भएको थियो ।

 

कडा सुरक्षाको पहराघेराभित्र रहेको नारायणहिटी राजदरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। उक्त घटना अझै रहस्यको गर्भमै छ ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि  रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्‍याए पनि त्यसलाई आमजनताले स्विकार गरेका छैनन् । तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ ।

 

 

सत्ताको पुगेका नेताहरूले सत्ता बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गर्ने गर्छन तर पदमा पुगेपछि दरबार हत्याकाण्ड तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।