share 278 चितवन । भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा गएको लेदोसहितको पहिरामा बगेर त्रिशूली नदीमा बेपत्ता दुईवटा बस तथा यात्रुको खोजी आज पनि जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहानदेखि पुनः खोजतलास थालिएको हो । नेपाली सुरक्षाकर्मीसहित भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्सका १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको उनले बताए । शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको छ । यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । यसअघि बससँगै हराएका ६२ मध्ये २५ शव भेटिएको भनिएकोमा एक शव नदीमा हामफालेकी पाल्पाकी एक महिलाको पुष्टि भएको यादवले जानकारी दिए । हालसम्म फेला परेका २४ मध्ये १८ शवको सनाखत भएको छ । जसमा १६ पुरुष र २ महिला छन् । ६ शवको सनाखत हुन बाँकी रहेको छ । सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका हुन्। पोस्टको नेभिगेसन सिमलताल दुर्घटनामा हराएका मध्ये २५ जनाको शव फेला, एन्जल बसका मालिकसहित १७ जनाको भयो सनाखत चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला