काठमाडौं । मणि थापा एमाले स्थायी कमिटीबाट पदमुक्त भएको छ । एक वर्ष अघि जेठमै पार्टीबाट छुट्टी मागेका थापालाई पदमुक्त गर्न एमालेलाई एक वर्ष लगेको हो ।
बिहीबार काठमाडौंमा बसेको पार्टी बैठकले थापालाई पदमुक्त गरेको जनाएको छ । थापाले उक्त निर्णयलाई स्वागत गरेको छ । ‘मैले पोहोर भदौ १२ गते नै राजीनामा दिएको थिएँ, उहाँहरुलाई चाँडै निर्णय गरिदिन अनुरोध पनि गरेको थिएँ,’ थापाले भने, ‘पाँच-सात महिनाअघि पनि एकपल्ट कुरा भएको थियो । तर ढिलो निर्णय भए पनि म यसलाई स्वागत गर्छु ।’
थापाले तुरुन्तै कुनै पार्टीमा लाग्ने घोषणा नगरे पनि विगतमा आफूले काम गरेको माओवादीमा फर्कने सामान्य संकेत गरेको छ । उनले भने, ‘राजनीति नै गर्ने हो । आफ्नो लिगेसी र स्कुलिङभित्र रहनुपर्छ भन्ने ठानेको छु । सायद त्यस्तै केही गर्छु होला ।’
विगतमा युद्धकालदेखि नै माओवादीमा रहेका थापा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा जोडिँदै एमाले प्रवेश गरेको थियो । उनलाई एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी सदस्य बनाएको थियो । तर काभ्रेमा आयोजित एक कार्यक्रममा थापाले नेपालमा सबैजसो ठूला पार्टी दक्षिणपन्थी बनिसकेको भन्दै एमाले पनि त्यसैभित्र रहेको बताएपछि ओली क्रुद्ध भएको थियो ।
थापाले ओलीको आक्रोशलाई पार्टीभित्र भविष्य नरहेको अर्थमा बुझे । पोहोर जेठमै उनले पार्टीभित्र छुट्टी मागेको थियो ।

