जुन 24, 2026
राजनीति

धम्कीको राजनीतिमा बालेन सरकार : मन्त्री स्वर्णिम र सुनिलको अभिव्यक्तिले बढायो विवाद

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी अभियानका क्रममा दिएको ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति अहिले उनकै सरकारका मन्त्रीहरूको बोलीमा पुनः दोहोरिन थालेपछि सरकारको शैलीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक निरीक्षणका क्रममा काम नगर्ने ठेकेदारको ‘खुट्टा भाँचिदिनू’ भन्दै दिएको निर्देशन सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र आलोचना भइरहेको छ ।

मन्त्री लम्सालको अभिव्यक्तिले सरकारको कार्यशैलीमाथि नै प्रश्न खडा गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई प्रश्न गर्ने सांसदहरूका ‘काण्ड’ सार्वजनिक हुने चेतावनी दिएका थिए । विपक्षी दलहरूले यसलाई लोकतान्त्रिक आलोचना दबाउने धम्कीपूर्ण शैलीको संज्ञा दिएका छन् भने संसदभित्रै मन्त्री वाग्लेको अभिव्यक्तिको चर्को विरोध भएको छ ।

नेकपा एमालेकी उपनेता पद्मा अर्यालले सरकारलाई ‘फाइल खोल्ने’ चुनौती दिँदै प्रतिपक्ष कुनै पनि छानबिनबाट नभाग्ने बताएकी छन् । उनले ओम्नी, वाइडबडीदेखि टी–इस्टेटसम्मका बहुचर्चित प्रकरण सार्वजनिक गर्न सरकारलाई खुला चुनौती दिँदै सत्य बाहिर ल्याउन आग्रह गरिन् । उता नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री शाहलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका छन् । उनले सरकार जिम्मेवार भाषाशैलीतर्फ फर्कनुपर्ने चेतावनी दिएका छन् ।

पुराना दलको शैली र व्यवहारमाथि प्रश्न उठाउँदै वैकल्पिक राजनीतिको नारासहित उदाएको रास्वपाकै मन्त्री र नेताहरू धम्कीपूर्ण भाषामा उत्रिन थालेपछि अहिले स्वयं समर्थकहरू समेत निराश बन्न थालेका छन् । सरकारका जिम्मेवार पदाधिकारीबाट आउने आक्रामक अभिव्यक्तिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने र नागरिकमा भयको सन्देश जाने भन्दै आलोचकहरूले सरकारलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

जवाफ लेख्नुहोस्