हेटौंडा । हेटौंडाबाट मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेका छन् । पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ का २६ वर्षीय हरि गौरव र नवलपरासी पण्डितपुर बनगरिया गाउँपालिका-१ का ४३ वर्षीका अनिल भर चौधरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-१५ चुरियामाईनजिकै पिपलचौताराबाट पक्राउ गरिएको हो । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ख ५८३९ नम्बरको बसलाई रोकी जाँच गर्दा बसमा रहेका उनीहरूको साथबाट चरेस फेला परेको प्रहरीले जनाएको छ ।
शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा उनीहरूले बोकेको झोलाभित्र कार्टुन टेपले बेरेर लुकाएर ल्याएको अवस्थाको १० किलो २५० ग्राम चरेस फेला परेको प्रहरी प्रमुख रिजालले बताए ।
चरेससहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको रिजालले जानकारी दिए ।

