जुन 12, 2026
लागुऔषध

मकवानपुरबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले २५ किलो ५०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको बुँदेल टोली माधव मालसलामी पटना सिटी पटना-८००००८ बस्ने २० वर्षका आदित्य कुमारलाई गाँजासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार प्रहरीले शनिबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर ०१ बि जे ८४८३ नम्बरको भारतीय स्यान्ट्रो कार हेटौंडा-१५ रातोमाटेमा रोकी चेकजाँच गर्दा उक्त कारमा लागुऔषध गाँजा फेला पारेको हो ।

प्रहरीले रीतपूर्वक खानतलासी गर्दा उक्त कारको विभिन्न भागमा फल्स बटम बनाई लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा फेला परेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

आदित्य कुमारलाई कारसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

जवाफ लेख्नुहोस्