काठमाडौं । आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ । धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ  शुल्क लाग्ने भएको हो ।

गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सशुल्क रुपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै आजदेखि धरहरा चढ्दा २ सय रुपैयाँ तिर्नुपर्ने छ । विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म हाललाई शहरी विकास भवन निर्माण तथा आवास विभागको प्रस्तावमा सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिई धरहरा सञ्चालन गर्न स्वीकृत दिइएको छ । सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ ।

त्यस्तै, शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ । चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ ।

यसअघि धरहराको पार्किङ गर्दा काठमाडौं महानगरपालिकाले निःशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो ।  भुकम्पपछि निर्माण गरिएको धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो । सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सन्चालनमा ल्याउन लागेको हो ।