जुन 25, 2026
राष्ट्रिय

गर्मी बढेसँगै महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि

महोत्तरी — गर्मी बढेसँगै महोत्तरी जिल्लामा सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप उच्च हुँदै गएको छ। गत चैत महिनामा १३ जना सर्पदंश शंकित बिरामी उपचारका लागि आएका थिए भने वैशाख महिनामा यो संख्या ४७ जना पुगेको उपचार टोली प्रमुख भोला चौधरीले जानकारी दिए।

उपचार केन्द्रमा ९ वटा मात्र बेड रहेकाले बिरामीको चाप बढ्दा व्यवस्थापनमा समस्या हुन थालेको छ। गोरखनाथ गण जलेश्वरबाट खटिएको पाँच प्राविधिकको समूहले २४ सै घण्टा सेवा दिइरहेको छ। महोत्तरीसहित धनुषा, सर्लाही, रौतहट, सिन्धुली र रामेछापबाट समेत बिरामी आउने गरेका छन्। गम्भीर अवस्थामा रहेका बिरामीलाई नजिकका निजी अस्पतालमा भेन्टिलेटर सुविधा सहित उपचार गरिने व्यवस्था मिलाइएको छ।

सर्पले टोकेपछि तत्काल के गर्ने भन्ने बारे पर्याप्त जानकारी नहुँदा धेरै बिरामी ढिलो गरी उपचार केन्द्रमा आउने गरेको पाइएको छ। केही बिरामीले पोलेर, चिरेर, डोरी वा ट्युबले बाँधेर, बेसार लगाएर वा धामीझाँक्रीकोमा गएर उपचार ढिल्याउने गरेका छन्। यस्ता समस्या न्यूनीकरण गर्न आम नागरिकमा चेतना अभिवृद्धि आवश्यक रहेको प्राविधिक चक्रबहादुर थोकरले बताए। सर्पदंशका बिरामीका लागि सुविधा सम्पन्न केन्द्र निर्माणको तयारी भइरहेको सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटाले जानकारी दिए।

जवाफ लेख्नुहोस्