काठमाडौं । मेटाले अब नेपाली फेसबुक कन्टेन्ट क्रियटरलाई प्रत्यक्ष आम्दानी गर्ने सुविधा उपलब्ध गराउन थालेको छ। यसै सातादेखि फेसबुकमा ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा सुरु भएको हो।

यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडियोमा देखिने विज्ञापन) र स्टारमार्फत मात्र क्रियटरलाई आम्दानी गर्ने सुविधा दिंदै आएको थियो। अहिले भने यी सेवाहरूलाई समेत समेटेर कन्टेन्ट मोनिटाइजेसनको रुपमा विस्तारित गरिएको छ।

यस सुविधाबाट लाभान्वित भएका प्रयोगकर्ता र पेजहरूले अब पोस्ट, रिल्स, स्टाटस र स्टोरीमार्फत पनि आम्दानी गर्न सक्नेछन्। केही क्रियटरहरूले नेपाली बैंक खातामै रकम प्राप्त हुन थालेको दाबी गरेका छन्। तर, केहीले पेआउट सेटअप गर्दा पेआउट डिसेबल हुने समस्या देखिएको गुनासो गरेका छन्।

यद्यपि यसअघि पनि केही प्रयोगकर्ताले नेपालमै बसेर वैकल्पिक उपायमार्फत फेसबुक मोनिटाइजेसनको फाइदा उठाउँदै आएको बताएका थिए। तर अब भने नेपालमै आधिकारिक रूपमा यो सुविधा पाउन थालेका छन्।

नेपाल सरकारले सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय पार्ने तयारी गरिरहेको बेला मेटाले यस्तो सुविधा उपलब्ध गराउनु महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।