काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले हालैका आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न सार्वजनिक सम्पत्ति जलाउने तथा तोडफोड गर्नेहरूमाथि कडा कारबाही हुने स्पष्ट पार्नुभएको छ। पदभार ग्रहणलगत्तै मंगलबार आयोजित औपचारिक कार्यक्रममा उहाँले दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले सार्वजनिक सम्पत्ति जलाउने र नष्ट गर्ने कार्यलाई आपराधिक कृत्य भन्दै सोको विस्तृत अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने बताउनुभयो। उहाँले सम्बोधनका क्रममा, “सार्वजनिक सम्पत्ति जलाउने वा तोडफोड गर्ने जुनसुकै शक्तिलाई कानुनको कठघरामा उभ्याइनेछ” भन्नुभयो।

हालै ‘Gen Z आन्दोलन’ अन्तर्गत काठमाडौं उपत्यका र विभिन्न जिल्लामा सरकारी भवनहरूमा आगजनी, तोडफोड तथा अराजक गतिविधि भएका थिए। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र अन्य सरकारी संरचनामा आगजनी हुँदा ठूलो मात्रामा भौतिक नोक्सानी भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यस्ता घटनाले करोडौँको क्षति पुर्याएको छ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायलाई तत्काल क्षतिग्रस्त संरचना मर्मत गरी सेवा सुचारु गर्न निर्देशन दिनुभएको छ। उहाँले सामान्य सामग्री प्रयोग गरेर भए पनि सार्वजनिक सेवामा अवरोध हुन नदिने स्पष्ट पार्नुभएको हो।

विशेषज्ञहरूले प्रधानमन्त्रीको कडा प्रतिबद्धतालाई ‘अराजक गतिविधि नियन्त्रण र राज्य संरचना पुनर्स्थापना गर्ने प्रारम्भिक कदम’का रूपमा लिएका छन्। तर आन्दोलनकारीहरूले भने सरकारसँग न्याय र पारदर्शिता सुनिश्चित गर्न दबाब दिइरहेका छन्।