काठमाडौं । जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले व्यापक क्षति पुगेको नक्सालस्थित भाटभटेनी सुपरमार्केट आगलागीपछिका केही दिनमै आफैं भत्किन थालेको छ।
शुक्रबार बिहानैदेखि भवनका विभिन्न भाग खस्न थालेपछि आसपासका क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। आगलागीका कारण सुपरमार्केटको भित्री संरचना कमजोर बनेपछि भवन आफैं भत्किन सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलमा प्रहरी र काठमाडौं महानगरपालिकाको प्राविधिक टोली परिचालन गरिएको छ। जोखिम मूल्याङ्कन गरी भवन पूर्णरूपमा भत्काउने वा बाँकी भाग जोगाउनेबारे छलफल भइरहेको काठमाडौं महानगरका एक अधिकारीले जानकारी दिए।
गत हप्ता जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले तोडफोडपछि आगजनी गरेपछि नक्सालस्थित भाटभटेनी सुपरमार्केट पूर्णरूपमा जलेर तहस–नहस भएको थियो। आगलागी नियन्त्रणमा लिन दुई दिनभन्दा बढी समय लागेको थियो।
स्थानीय बासिन्दाले भवन खस्ने जोखिमका कारण आसपासका पसल र आवास खाली गर्न थालेका छन्। महानगरले सर्वसाधारणलाई जोखिम क्षेत्र नजिक नजान आग्रह गरेको छ।

