share 236 विराटनगर । लगातार वर्षाले सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेज क्षेत्रमा आइतबार उच्च सतर्कता घोषणा गरिएको छ। पानीको सतह पुलसम्म आइपुगेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ भने सवारीसाधन र पैदल आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कोशी ब्यारेजका अनुसार आइतबार बिहान ११:०७ बजे सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको मापन गरिएको छ। यो बहाव विगत केही वर्षयताकै उच्च हो। गत वर्ष असोजमा ५ लाख ५७ हजार क्युसेक बहाव मापन गरिएको थियो, जुन सन् १९६८ यताकै उच्च रेकर्ड हो। त्यसभन्दा पहिले सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक मापन गरिएको थियो। यसपटकको बहाव पनि सो रेकर्ड नजिक पुगेको छ। पानीको स्तर पुलसम्म आइपुगेपछि ब्यारेजका दुवै तर्फ सप्तरी र सुनसरीबाट ढाँट (गेट) लगाएर आवागमन रोकिएको छ। प्रहरी तथा प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक नपरी नदी नजिक नजान आग्रह गरेको छ। बाढीले तलतिरका बस्तीहरूमा जोखिम बढ्न सक्ने भएकाले रेड अलर्ट जारी गरिएको छ। स्थानीय बासिन्दाले नदीको बहाव र सतह एकैछिनमै तीव्र बढेको अनुभव गरेको बताएका छन्। पोस्टको नेभिगेसन कोशी ब्यारेजका ५० ढोका खोलिए ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा मानवीय क्षति : मन्त्री घिसिङ