काठमाडौं । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको प्रदर्शनमा ठूलो सुरक्षा जोखिम हुनसक्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल प्रदर्शन रोक्न आग्रह गरेका छन्।

सोमबार साँझ गृहमन्त्रीसँग भेट गरेका प्रहरी प्रमुखसहितका अधिकारीहरूले लुटिएका प्रहरी बर्दी र हतियार अझै फिर्ता नभएकाले स्थिति गम्भीर बन्दै गएको बताएका छन्।

एक अधिकारीका अनुसार, “प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेवर अपराधी पनि बाहिरै छन्। तिनै बर्दी र हतियार बोकेर कसैले प्रदर्शनमा गोली चलायो भने, सक्कलीले हो कि नक्कलीले छुट्याउन सकिने अवस्था छैन। त्यसैले सडक प्रदर्शन रोक्नुपर्छ।”

गृहमन्त्री अर्यालले भने आन्दोलन केवल आग्रह गरेर रोक्न नसकिने बताए। उनले भने, “२३ गतेको आन्दोलनका क्रममा दमन गर्ने अधिकारीहरूविरुद्ध जाहेरी नलिएसम्म उनीहरूको आक्रोश कम हुन गाह्रो छ।”

प्रहरी अधिकारीहरूले गृहमन्त्रीलाई कानुनी प्रक्रिया अघि बढाउन र गृह मन्त्रालयमार्फत शान्ति–सुरक्षाको कारण देखाउँदै प्रदर्शन नगर्न आधिकारिक सूचना जारी गर्न माग गरेका छन्।

प्रहरीका अनुसार लुटिएका करिब १२०० हतियारमध्ये तीन सयजति मात्र फिर्ता भएका छन्। बाँकी हतियार अझै फेला नपरेको र ती अपराधी समूहको हातमा पर्न सक्ने आशंका प्रहरीले जनाएको छ।

एक वरिष्ठ अधिकारीले भने, “यी हतियार वास्तविक जेनजी आन्दोलनकर्ताले लगेको भए अबसम्म फर्किसक्थे। तर नफर्किएकाले ती हतियार अपराधी समूहको हातमा पुगेका छन् र ती नै अहिलेका लागि हाम्रो प्रमुख सुरक्षा चुनौती बनेका छन्।”