काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ लिने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

नयाँ मन्त्रीका रूपमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमको नाम टुंगो लागेको छ।

श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गुप्तालाई युवा तथा खेलकुद, रामलाई स्वास्थ्य तथा जनसंख्या र ल्हाजोमलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार टासी ल्हाजोमको नामबारे अन्तिम छलफल जारी छ।

संस्कृति र सम्पदा संरक्षणमा सक्रिय गणपतिलाल श्रेष्ठ रानीपोखरी, पशुपति क्षेत्र र खुलामञ्चजस्ता सम्पदाको संरक्षणका अभियन्ता हुन्।
कोभिड महामारीका बेला नि:शुल्क खाना अभियान सञ्चालन गरेर चर्चामा आएका बब्लु गुप्ता ‘हन्ड्रेड ग्रुप’का संस्थापक हुन्।
रौतहटका डा. रामजी राम चमार समुदायका पहिलो चिकित्सक हुन्। उनी स्वास्थ्य र समान अवसरका पक्षधरका रूपमा चिनिन्छन्।
हुम्लाकी टासी ल्हाजोम जलवायु परिवर्तनका विषयमा सक्रिय युवामध्ये एक हुन्। उनले दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहभागी अन्य युवालाई पनि सचिवालयमा समावेश गर्ने तयारी गरेकी छिन्।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व कार्कीले २७ भदौमा ग्रहण गरेकी थिइन्। उनले त्यसयता दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छिन्। हाल उनको सरकारमा आठ मन्त्री छन्।