जुन 13, 2026
अन्तर्राष्ट्रिय

खाडीमा मिसाइल वर्षा, युद्धको खतरा चर्कियो

एजेन्सी । इरानले बहराइन र कुवेतस्थित अमेरिकी लक्ष्यतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि खाडी क्षेत्रमा युद्धको खतरा झन् बढेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार होर्मुज जलसन्धि आसपास रहेका अमेरिकी सैन्य लक्ष्यलाई निशाना बनाएर प्रहार गरिएका अधिकांश मिसाइल आकाशमै निष्क्रिय पारिएका थिए भने एउटा लक्ष्यमा पुग्नुअघि खसेको बताइएको छ। घटनापछि खाडी क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

आक्रमणपछि बहराइनको राजधानी मनामा र कुवेतका विभिन्न क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बहराइनमा रहेको अमेरिकी पाँचौँ फ्लीटको मुख्यालय नै निशानामा परेपछि बहराइन सरकारले यसलाई ‘खुला आक्रमण’को संज्ञा दिएको छ भने कुवेतले ‘खतरनाक तनाव वृद्धि’ भन्दै कडा प्रतिक्रिया जनाएको छ। विस्फोटपछि स्थानीय बासिन्दाबीच त्रास फैलिएको बताइएको छ।

पछिल्लो घटनाले अमेरिका–इरानबीचको प्रत्यक्ष तनावलाई थप चर्काएको विश्लेषण गरिएको छ। गाजादेखि लालसागरसम्म फैलिएको अस्थिरताबीच खाडी क्षेत्रमा फेरि ठूलो सैन्य भिडन्तको जोखिम बढेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। लगातार बढ्दो सैन्य गतिविधिले मध्यपूर्वलाई पुनः युद्धको डिलमा पुर्‍याएको चिन्ता व्यक्त हुन थालेको छ।

जवाफ लेख्नुहोस्