जुन 13, 2026
अपराध

९ दिनमा ४ विभत्स हत्या : समाज कुन दिशातर्फ जाँदैछ ?

काठमाडौँ । पछिल्ला केही दिनयता देशका विभिन्न भागमा भएका विभत्स हत्याका घटनाले नेपाली समाजलाई गम्भीर रूपमा झस्काएको छ । श्रीमानले श्रीमती, बाबुले छोरा तथा चिनजानकै व्यक्तिले महिलाको हत्या गरेका घटनाले समाजमा हिंसा, असहिष्णुता र मानसिक विचलन बढ्दो अवस्थामा पुगेको संकेत गरेको विज्ञहरूको भनाइ छ ।

काठमाडौँ, भक्तपुर, दैलेख र झापामा नौ दिनको अवधिमा भएका चार हत्याका घटनाले समाजभित्र मौलाउँदै गएको मनोसामाजिक समस्या उजागर गरेको छ । समाजशास्त्रीहरूका अनुसार यी घटनाहरू केवल क्षणिक रिसको परिणाम मात्र नभई पारिवारिक विखण्डन, मानसिक तनाव, कुण्ठा, सम्पत्ति विवाद र दण्डहीनताको उपज पनि हुन् ।

वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. रञ्जनभक्त प्रधानाङ्गले प्रविधिको तीव्र विस्तारसँगै मानिसहरू सामाजिक सम्बन्धभन्दा एक्लोपनतर्फ धकेलिएको बताए । उनका अनुसार मोबाइल र इन्टरनेटमै सीमित जीवनशैलीले सहनशीलता कमजोर बनाएको छ भने नैतिक शिक्षाको अभावले हिंसात्मक प्रवृत्ति बढाएको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म नैतिक शिक्षा अनिवार्य बनाउनुपर्ने उनको सुझाव छ।

मनोविद् सावित्री गौतमका अनुसार समाजमा बढ्दो ‘इगो’, शक्ति प्रदर्शन र दण्डहीनताको मानसिकताले अपराधलाई बढावा दिइरहेको छ । विशेषगरी महिला हिंसाका घटनामा पुरुषको नियन्त्रणवादी सोच र मानसिक असन्तुलन प्रमुख कारणका रूपमा देखिएको उनले बताइन् । अपराध गरे पनि उम्किन सकिन्छ भन्ने सोचले समाजलाई थप असुरक्षित बनाएको उनको भनाइ छ ।

मानवशास्त्री डा. डम्बर चेम्जोङले सञ्चार र सामाजिक सञ्जालको पहुँच बढेसँगै यस्ता घटनाहरू तत्काल सार्वजनिक हुन थालेको बताए । तर बदलिँदो पारिवारिक संरचना, कमजोर सामाजिक सम्बन्ध र व्यक्तिकेन्द्रित सोच नै अहिलेको ठूलो चुनौती बनेको उनको विश्लेषण छ ।

विज्ञहरूले समाजलाई सुरक्षित बनाउन कानुनी डर मात्र होइन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व र पारिवारिक सम्बन्धको पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।

जवाफ लेख्नुहोस्